
विराटनगर। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । उद्धारका लागि खटिएका तीन जना प्रहरीसहित केही मजदुरहरू सम्पर्कविहीन भएका छन् ।

सोमबार रातिदेखि चीनतर्फ भएको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन् ।
प्रहरीका अनुसार टिमुरेस्थित ड्राइपोर्टमा कार्यरत केही मजदुरहरू पनि सम्पर्कमा आएका छैनन् । घटनापछि रसुवाका डीएसपी हेम शाहीले सम्पर्कविहीनहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्।
बाढीले दर्जनौं सवारी साधन बगाएको छ भने नेपाल–चीन सिमानामा रहेको मितेरी पुल समेत बगाएको छ। साथै, आसपासका संरचनामा पनि ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय अशोक पराजुलीका अनुसार नदी किनारमा रहेका संरचना पूर्णरूपमा बगाएका छन् । उनले दर्जनौं गाडी बगाएको पुष्टि गरेका छन् भने केही स्थानीय व्यवसायी पनि बाढीमा फसेको अनुमान गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनतर्फबाट आएको बाढीले ड्राइपोर्टमा रहेका सवारी साधन, गोदाम र अन्य संरचना तहसनहस बनाएको छ। क्षतिको यथार्थ विवरण संकलनको प्रयास भइरहेको बताइएको छ।
प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै उद्धार र राहतका कार्यमा सुरक्षा निकायलाई खटाइसकेको जनाएको छ।