काठमाडौँ — मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ। मुस्लिम समुदायले बिहानै स्नान गरी मस्जिद तथा इदगाहमा सामूहिक नमाज अदा गर्दै एकापसमा शुभकामना आदानप्रदान गरेका छन्।
दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा भक्तजनको उल्लेख्य भीड लागेको छ। धार्मिक मान्यताअनुसार अल्लाहप्रति समर्पण र त्यागको प्रतीकस्वरूप इब्राहिम अलैहिस्सलामले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइन्छ।
बकर इदमा मुस्लिम धर्मावलम्बीले अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको कुर्बानी दिने परम्परा निभाउने गर्छन्। मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने परम्परा रहेको जनाइएको छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
