
विराटनगर । नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीले विदुर नगरपालिका–१ लभडाँडा मिलनचौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मङ्गली तामाङलाई फसाएको थियो।
दुई दम्पती दाउरा काट्न नदी किनारमा गएका बेला चीनतर्फबाट एक्कासी बाढी आएपछि उनीहरू त्रिशूली नदीको उच्च बहावमा फसेका थिए।
उनीहरूको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जानकारी दिएको छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै दुवै जनाको सकुशल उद्धार भइसकेको पुष्टि गरेको छ।
अत्यधिक जोखिमपूर्ण अवस्थामा रहेको स्थानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको घटनालाई सरोकारवालाहरूले समयमै गरिएको महत्वपूर्ण र सफल उद्धारको रुपमा लिएका छन्।
प्राधिकरणले विपद्को समयमा सुरक्षाकर्मी तथा उद्धार टिमको तत्परताले ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने उदाहरणका रूपमा यस घटनालाई व्याख्या गरेको छ।