विराटनगर, जेठ १७ — विराटनगर–१० स्थित अरनीको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन पद्धति तथा अनुशासनबारे जानकारी गराउने उद्देश्यले विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो।कलेजका अनुसार कार्यक्रम शनिबार र आइतबार गरी दुई चरणमा सञ्चालन गरिएको छ। शनिबार ‘बायो ग्रुप’का विद्यार्थीहरू सहभागी भएका थिए भने आइतबार कम्प्युटर विज्ञान संकायका विद्यार्थीहरूलाई सहभागी गराइनेछ।कार्यक्रममा प्रसिद्ध मोटिभेटर डा. तारा गिरीले सहजीकरण गर्दै विद्यार्थीहरूलाई बदलिँदो शैक्षिक तथा सामाजिक परिवेशमा सफल हुने उपाय, लक्ष्य निर्धारणको महत्व तथा अध्ययनलाई रुचिपूर्ण बनाउने विषयमा प्रशिक्षण दिएका थिए। उनले आत्मविश्वास, सकारात्मक सोच र निरन्तर मेहनतले सफलता हासिल गर्न सकिनेमा जोड दिए।सो अवसरमा कलेजले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरी सम्मानसमेत गरेको छ। कक्षा १० को एसईई परीक्षामा ३.९१ जीपीए प्राप्त गर्ने जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरिएको थियो।त्यस्तै, कलेजको प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने सुयोग पोखरेल र प्रिन्स मण्डललाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरिएको छ। प्रवेश परीक्षामा द्वितीय स्थान हासिल गर्ने कुलानन्द कुमार यादव तथा तृतीय हुने रोहित कुमार साहलाई पनि छात्रवृत्ति र पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ।विद्यार्थीहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गर्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले अनुशासित, सुरक्षित र भयरहित वातावरणमा अध्ययन गर्न आग्रह गरे। “लगनशीलता नै सफलताको मूल आधार हो,” उनले भने, “विद्यार्थीहरूको प्रतिभा र क्षमताको विकासका लागि कलेजले सधैं उपयुक्त अवसर र वातावरण उपलब्ध गराउँदै आएको छ।”कार्यक्रममा कलेजका निर्देशक भरतराज दाहालले स्वागत मन्तव्य राख्दै अरनीको कलेजको शैक्षिक उत्कृष्टताको परम्परालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। कलेजका संयोजक विकास खनालले विद्यार्थीहरूलाई कलेजका नियम, अनुशासन र जिम्मेवारीबारे जानकारी गराएका थिए।कलेजले यस्ता अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई शैक्षिक वातावरणमा सहज रूपमा घुलमिल हुन, लक्ष्यप्रति केन्द्रित बन्न तथा अनुशासित शैक्षिक जीवनतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
