बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा शुक्रबार दिउँसो लागेको आगलागीबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगो शनिबार मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
उद्योगका सञ्चालक प्रकाश रानाका अनुसार आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर नष्ट भएका छन्। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइएको हो।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ।
