
विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानको आसपास अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा बदली मौसम र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार हाल देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थान र अन्य केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमतीका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले सम्भावित भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने ,साना/ठूला खोलानालामा पानीको सतह बढ्ने छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ।
त्यसैले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।