काठमाडौं, जेठ १७ । देशका विभिन्न भूभागमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा नेपालनजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
दिउँसो विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ भने तराईका अधिकांश क्षेत्रमा गर्मीको प्रभाव बढ्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
त्यसैगरी, कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
मौसममा आउने सम्भावित परिवर्तनका कारण मेघगर्जन, चट्याङ तथा वर्षाबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
