
विराटनगर। भारतसँग सीमा जोडिएको झापाको काकडभिट्टा नाकाबाट पेस्तोलसहित नेपाल प्रवेश गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको सिलगुडी निवासी २५ वर्षीय प्रतीक अग्रवाललाई नियन्त्रणमा लिएको हो। अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा प्रहरीले पेस्तोल र १८ थान गोली फेला पारेको हो।
इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार नियमित सवारी जाँचका क्रममा अग्रवालको साथबाट उक्त हतियार बरामद भएको हो। उनले बताएअनुसार अग्रवालको साथमा चार थान विभिन्न कम्पनीका मोबाइल फोन समेत फेला परेका छन्।
पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।