
विराटनगर। विराटनगरमा फेरि कोरोना भाइरस संक्रमणको संकेत देखिएको छ। पछिल्ला विवरणअनुसार महानगर क्षेत्रका चार जनामा संक्रमण पुष्टि भएपछि स्थानीय सरकार सतर्क बनेको छ।

महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार संक्रमितहरू विराटनगर–२, ९ र १६ नम्बर वडाका बासिन्दा हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिए पनि संक्रमण समुदायमा नफैलियोस् भनेर सतर्कता अपनाइएको स्वास्थ्य महाशाखाले जनाएको छ।
यसै सन्दर्भमा, संक्रमण नियन्त्रण गर्न विराटनगर महानगरपालिकाले विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आउँदो असार २५ र २६ गते सञ्चालन हुने खोप अभियान विशेषगरी ५५ वर्षभन्दा माथिका नागरिक तथा दीर्घरोगीहरूलाई लक्षित गरिनेछ। महानगरका सबै १९ वटै वडाका स्वास्थ्य चौकीमार्फत खोप सेवा उपलब्ध गराइनेछ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले संक्रमण नियन्त्रणमा खोपसँगै सावधानी अपनाउन जरुरी रहेको बताए। “मास्कको प्रयोग, भिडभाडबाट टाढा रहने, हात धुनेजस्ता स्वास्थ्य मापदण्ड अपनाउन हामीले आग्रह गरेका छौं,” डा. यादवले भने। साथै, लक्षण देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको उनको सुझाव छ।
महानगरले संक्रमणको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे थप कदम चाल्ने तयारी रहेको जनाएको छ।