मोरङ, असार २२ ।
विश्व वातावरण दिवस २०८३ को अवसरमा शान्ति युवा क्लबद्वारा आयोजित वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनसम्बन्धी कार्यक्रम आज शान्ति बाल सदनमा सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३० देखि ३५ वटा बिरुवा रोपण गरिएको थियो। साथै वातावरणीय सन्देश प्रवाह गर्न जनचेतनामूलक र्याली समेत आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, वृक्षारोपण तथा सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा स्वच्छ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।कार्यक्रमको मुख्य सन्देश “हाम्रो वातावरण, हाम्रो जिम्मेवारी” रहेको थियो। स्वच्छ, हरियाली र दिगो भविष्य निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट वातावरण संरक्षणमा सक्रिय योगदान पुर्याउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।शान्ति युवा क्लबले आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
