जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा प्रवेश, आधुनिक स्वास्थ्य सेवासहित जनविश्वास बढ्दै

 

 

 

 

 

 

 

 

 

मोरङ, कटहरी – मोरङको कटहरी गाउँपालिका–२, हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन सफलतापूर्वक दोस्रो वर्षमा प्रवेश गरेको छ। अस्पतालले आफ्नो पहिलो वार्षिकोत्सव भव्य कार्यक्रमका साथ मनाउँदै एक वर्षको उपलब्धि सार्वजनिक गरेको हो।

एक वर्षअघि सञ्चालनमा आएको २०० शय्याको अस्पतालले पूर्वी नेपालका साथै छिमेकी भारतका बिरामीलाई समेत गुणस्तरीय, आधुनिक र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। ग्रामीण तथा विपन्न समुदायलाई सहज स्वास्थ्य पहुँच उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अस्पतालले छोटो समयमै जनविश्वास हासिल गर्न सफल भएको छ।

अस्पतालका अध्यक्ष तथा संस्थापक योगेन्द्र मण्डल ले पहिलो वर्षमै अस्पतालले अपेक्षाअनुसारको प्रगति हासिल गरेको बताउँदै अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत स्वास्थ्य क्षेत्रमा नयाँ मानक स्थापित गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रममा जीवन विकास समाज की अध्यक्ष रिवोलदेवी मण्डल ले अस्पतालको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनमैत्री सेवा विस्तार गर्न सुझाव दिइन्। सञ्चालक सञ्जयकुमार मण्डल ले समाजले तीन दशकदेखि निर्माण गरेको विश्वासलाई स्वास्थ्य क्षेत्रमा पनि निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

अस्पतालका संयोजक तेजस्वी मण्डल का अनुसार अस्पतालले पहिलो वर्षमै सिटी स्क्यान र एमआरआईजस्ता अत्याधुनिक सेवा सञ्चालनमा ल्याइसकेको छ। साथै, मुटुरोग उपचारलाई थप प्रभावकारी बनाउन निकट भविष्यमा क्याथल्याब सेवा सुरु गर्ने तयारी भइरहेको छ।

वार्षिकोत्सव समारोहमा केक काट्नुका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। अस्पतालले आगामी वर्षहरूमा अझ व्यापक, प्रविधिमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।