काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ । यही मौसमी प्रणालीका कारण आज (मंगलबार) देशका अधिकांश भू–भागमा बादल लाग्नुका साथै विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानदेखि हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशको तराई क्षेत्रमा पनि सामान्य बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बदलीको अवस्था छ ।दिउँसो हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रको मौसम भने अधिकांश समय सफा रहने सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने भएकाले केही स्थानमा तातो दिनको अनुभव हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा पनि हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराईमा आंशिक बदली कायम रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराईका केही स्थानमा रातको समयमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मौसमविद्हरूले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता एवं सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।
