विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार भरत यादवको पक्षमा समर्थन जुट्ने क्रम बढ्दै गएको छ। पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले यादवलाई अत्यधिक मतका साथ विजयी गराउन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
कोशी प्रदेशका १४ जिल्लादेखि राष्ट्रिय स्तरसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई सक्षम, ऊर्जाशील तथा जनताका दुःख–सुखमा निरन्तर साथ दिने नेतृत्वका रूपमा चित्रण गरिएको छ। सामाजिक सेवामार्फत पहिचान बनाएका यादवले विभिन्न मानवीय तथा सामाजिक अभियानमा उल्लेखनीय योगदान पुर्याएका छन्।
रक्तदान तथा रगत खोजी अभियान, मानव उद्धार, हरियाली प्रवर्द्धन, मेची–महाकाली सरसफाइ अभियान, जनावर संरक्षण, लागूऔषध नियन्त्रण तथा सामाजिक सचेतनाका विविध कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पार्दै आएका छन्। कोभिड–१९ महामारीका बेला अक्सिजन व्यवस्थापन, उपचार सहयोग तथा राहत वितरणमा उनले सक्रिय भूमिका खेलेका थिए।
त्यसैगरी, घरविहीन नागरिकका लागि आवास व्यवस्थापन, सडक आश्रितको संरक्षण तथा अभिभावकविहीन व्यक्तिहरूलाई सहयोग गर्दै समाजसेवामा निरन्तर समर्पित रहेको बताइएको छ।
टोल, वडा, पालिका, जिल्ला र प्रदेश तह हुँदै केन्द्रीय स्तरसम्म संगठन विस्तार तथा नेतृत्व विकासमा अनुभव हासिल गरेका यादवसँग समाजका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने क्षमता रहेको समर्थकहरूको दाबी छ।
हाल मानव विकास प्रवर्द्धन विभाग प्रमुख, कोशी प्रदेशको जिम्मेवारी सम्हालिरहेका यादवको विजयले पार्टीभित्र सुशासन, पारदर्शिता र परिवर्तनको अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।केन्द्रीय सदस्य पदका उम्मेदवार यादवलाई मतदान गरी विजयी गराउन प्रतिनिधिहरू तथा मतदातासमक्ष समर्थकहरूले हार्दिक अपिल गरेका छन्।
