यस्तो रहनेछ मौसम

काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ । यही कारण देशका विभिन्न भू–भागमा आज (शुक्रबार) बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशको हिमाली भू–भागमा पनि बादल लाग्ने सम्भावना छ ।कोशी प्रदेशको तराईमा समेत मौसम बदली रहने अनुमान गरिएको छ । कोशीका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेश प्रदेश तराई र लुम्बिनीको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका केही स्थानमा समेत चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।