विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट सासू र बुहारीलाई ठुलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।
स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार खातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनको घरमा छापा मारेको थियो ।जाँच तथा खानतलासीका क्रममा खातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेला परेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । लागुऔषधसहित सासू बुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
