परोपकार घाटमा मध्यराति रहस्यमय गतिविधि, प्रहरीद्वारा अनुसन्धान सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति देखिएको रहस्यमय गतिविधिको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

राति करिब १२ः३० बजे खिचिएको भिडियोमा शवदाह स्थल नजिक आगो बालेर ६ जना युवा बसेको तथा दुई युवाबीच विवाद र धकेलाधकेल भइरहेको देखिन्छ। तीमध्ये एक जना निर्वस्त्र र अर्का एक जना भित्री वस्त्रमा मात्रै रहेको भिडियोमा देखिएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र भिडियोका आधारमा मात्र कुनै आपराधिक वा गैरकानुनी गतिविधि भएको पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन विशेष टोली परिचालन गरिएको छ।

स्थानीयवासीले घाटमा रातिको समयमा हुने गतिविधिबारे चासो व्यक्त गर्दै सुरक्षा निगरानी बढाउन माग गरेका छन्। वडाध्यक्ष काजीबहादुर बस्नेतले पनि परोपकार घाटमा केही समययता गलत गतिविधि भइरहेको जानकारी प्राप्त भएको बताउँदै सुरक्षा व्यवस्था थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तह र प्रहरीको अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।