विराटनगर मोरङ
विराटनगरमा आज महानगरपालिकाले आयोजना गरेको नगर सभाको १८ औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजानिक गर्नुभएको हो । उक्त प्रस्तुत गरेको बजेट चालु वर्षको तुलनामा करिब १० करोड रुपैयाँ कम हो । बजेटको सबैभन्दा ठूलो हिस्सा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरिएको छ । महानगरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य राखे पनि चालु वर्षको कमजोर राजस्व संकलनका कारण उक्त लक्ष्य चुनौतीपूर्ण देखिएको छ । विराटनगर महानगरपालिकाले राजस्व प्रशासनलाई थप सुदृढ, समावेशी र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै महानगरले करको दायरा विस्तार गर्ने नीति अवलम्बन गरेको उपप्रमुख कार्कीले बताउनुभयो ।
उपप्रमुख कार्कीले नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटअनुसार हालसम्म करको दायरामा नआएका क्षेत्रको पहिचान गरी दर्ता बिना सञ्चालन भइरहेका व्यवसायलाई सूक्ष्म अनुगमनमार्फत करको दायरामा ल्याउने उल्ललेख गर्नुभयो । नागरिकमाथि अतिरिक्त करको भार नपारी राजस्वको आधार फराकिलो बनाउने महानगरको लक्ष्य छ । महानगरले विभिन्न लक्षित वर्गलाई कर सहुलियत दिने व्यवस्था पनि गरेको छ । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महिला सञ्चालित व्यवसायको दर्ता तथा नवीकरणमा २५ प्रतिशत छुट दिने भएको छ । ‘एकल महिलाको आत्मनिर्भरतामा महानगरको हात’ भन्ने नाराअनुसार एकल महिलाद्वारा सञ्चालित व्यवसायले पनि समान छुट पाउने व्यवस्था गरिएको उपप्रमुख कार्कीले बतानुभयो ।
लैङ्गिक हिंसाबाट पीडित महिलाको विवरण गोप्य राख्दै उनीहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न व्यवसाय दर्ता तथा नवीकरणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । यस्तै, सामाजिक न्याय र समतामूलक विकासलाई प्राथमिकता दिँदै अपाङ्गता भएका नागरिक तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले सञ्चालन गर्ने व्यवसायको दर्ता तथा नवीकरणमा शतप्रतिशत छुट दिने महानगरले उल्लेख गरेको छ । अन्य निकायमा दर्ता भएर पनि महानगरमा दर्ता हुन बाँकी रहेका व्यवसायीलाई कानुनी दायरामा ल्याउन ‘नयाँ सुरुवात, कर छुटको साथ’ योजना ल्याइएको छ। यसअन्तर्गत त्यस्ता व्यवसायीले विगतको एक आर्थिक वर्ष र चालु आर्थिक वर्षको मात्र कर बुझाए पुग्ने व्यवस्था गरिएको छ। कार्यक्रमका सभाअध्यक्ष प्रमुख नागेश कोइरालाले यस वर्षको वजेट थौरे भएपनि कार्य योजनाहरु सहज र प्रभावकारी बनाएको बताउनुभयो।
