विराटनगर
देशभर मनसुन विस्तार हुने क्रममा कोशी प्रदेशमा यसको प्रभाव अन्य प्रदेशको तुलनामा बढी देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका अधिकांश भूभागमा दिनभर बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने तराईका क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।
हाल मनसुनी वायुको प्रभाव कोशी, मधेस र वाग्मती प्रदेशभर फैलिएको विभागले जनाएको छ। गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा समेत मनसुन सक्रिय रहेकाले ती क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
यता मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने भएकाले गर्मीको प्रभाव कायमै रहने मौसमविद्हरूले बताएका छन्।
वर्षा न्यून भएका कारण विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको अवस्था जारी रहने अनुमान गरिएको छ। वाग्मती र गण्डकीका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने ‘हट डे’ को अवस्था देखिन सक्ने विभागको भनाइ छ।
रातिको समयमा समेत कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बदली कायम रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार मनसुन अझै देशभर पूर्ण रूपमा फैलिन बाँकी रहेकाले पूर्वी नेपालमा वर्षा र पश्चिमी तराईमा गर्मीको दोहोरो अवस्था आगामी केही दिनसम्म कायम रहने सम्भावना छ। यस अवधिमा वर्षा प्रभावित क्षेत्रका बासिन्दालाई चट्याङ, पहिरो तथा आकस्मिक बाढीको जोखिमप्रति सचेत रहन र तातो लहर प्रभावित क्षेत्रमा पर्याप्त पानी पिउन तथा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
