विराटनगर । मोरङको अलगअलग स्थानमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । उर्लाबारीमा ट्याक्ट र जहदामा यात्रुवाहक बस दुर्घटनामा परेका हुन् ।
प्रहरीका अनुसार उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–५ तरुण चोकमा प्र १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टरबाट लडेर उर्लाबारी–६ का २० वर्षीय देवेन्द्र मगरको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार बिहान ७ः१० बजेतिर दुर्घटना भएको हो । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्याक्टर र चालक झापाको दमक नगरपालिका–४ का १९ वर्षीय बुद्ध तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, जहदा गाउँपालिका–२ मिलन चोकमा प्र १–०४–००१ ख ००८७ नम्बरको बस आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एउटै वडाका १८ जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस बिहान ५ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अधिकांश बालबालिका रहेका छन् ।
दुर्घटनामा जहदा–२ की १८ वर्षीया राधा ऋषिदेव, १५ वर्षीया रन्जिता ऋषिदेव, १४ वर्षीया पुष्पा ऋषिदेव, २२ वर्षीया सरस्वती ऋषिदेव, ५ वर्षीय रितेश ऋषिदेव, २० वर्षीय विशाल ऋषिदेव, १९ वर्षीया काजल ऋषिदेव, ७ वर्षीय विशाल ऋषिदेव, १९ वर्षीय कृष्ण ऋषिदेव, १६ वर्षीय विशाल ऋषिदेव र १७ वर्षीया राधिका ऋषिदेव घाइते भएका छन् । त्यस्तै, २० वर्षीया बुधनी ऋषिदेव, १५ वर्षीया राधा ऋषिदेव, १९ वर्षीया रुपा ऋषिदेव, ९ वर्षीया रिया ऋषिदेव, १४ वर्षीय ओम ऋषिदेव, ११ वर्षीय सुमन ऋषिदेव र १५ वर्षीय राज ऋषिदेव घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरुको विराटनगरको प्राइम अस्पतालमा उपचार भइरहेको छ । सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लागेको छैन । दुर्घटनालगत्तै फरार भएका बस चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
