काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने मौसमविद्ले बताएका छन्।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्तालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले अनुरोध गरेको छ।
