यस्तो रहनेछ मौसम

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शुक्रबार) दिनभर अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी पहाडी तथा हिमाली भू–भागमा वर्षाको प्रभाव बढी रहने अनुमान गरिएको छ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाका अनुसार शुक्रबार बिहानदेखि नै देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।

बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहेकाले दिनभर मौसममा सुधार आउने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा अति गर्मीको महसुस हुनेछ ।

रातको समयमा पनि वर्षाको क्रम जारी रहने सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मनसुन सक्रिय रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । त्यसैले मौसमको अद्यावधिक जानकारी नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।