कोशी अस्पतालको जग्गा एक हप्ताभित्र खाली गर्न गृहमन्त्री गुरुङको चेतावनी

विराटनगर,

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता ले आइतबार विराटनगरस्थित कोशी अस्पताल को स्वामित्वमा रहेको जग्गाको निरीक्षण गर्दै त्यहाँ सञ्चालित औषधि पसल तथा अन्य संरचना एक हप्ताभित्र खाली गर्न चेतावनी दिएका छन्।
धनरानबाट विराटनगर पुगेका दुवै मन्त्रीले अस्पतालको जग्गामा सञ्चालन भइरहेका औषधि पसलहरूको निरीक्षण गर्नुका साथै सञ्चालकहरूसँग संक्षिप्त छलफल गरेका थिए। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले पसल सञ्चालकसँग भाडा सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी कागजात माग्दै जग्गाको कानुनी अवस्थाबारे अध्ययन भइरहेको बताए।
उज्ज्वल फर्माका सञ्चालकले सम्झौता पत्र घरमा रहेको र आफूले मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको जानकारी दिएका थिए।
त्यसपछि गृहमन्त्री गुरुङले भने, “अबको एक हप्ताभित्र यो जग्गा खाली चाहिन्छ। औपचारिक रूपमा नोटिस आउँछ। यो सरकारी जग्गा हो। सरकारी जग्गामा बसेर कुनै समितिलाई भाडा बुझाउने कुरा स्वीकार्य हुँदैन।”
उनले औपचारिक पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढ्ने पनि बताए।
त्यसपछि गृहमन्त्री अर्को पसलमा जानकारी लिन पुगेका थिए। सर्वसाधारणको भीड बढेपछि भने उनी अस्पतालभित्र प्रवेश नगरी त्यहाँबाट बाहिरिएका थिए।