विराटनगर । सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले स्वचालित चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति करिब १:२० बजेको समयमा गढी गाउँपालिका–१ स्थित मदेली झण्डा चोकमा शंकास्पद रूपमा हिँडिरहेका दुई व्यक्तिलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१७ रानीका ५१ वर्षीय नुर महोमद र विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा नुर महोमदको साथबाट ३ राउण्ड गोली लोड गरिएको एक थान चाइनिज पेस्तोल फेला परेको थियो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ ।
