घर–घरमा तुलसी रोपिँदै, हरिशयनी एकादशीसँगै चतुर्मास व्रतको शुभारम्भ

सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा आज (शनिबार)बाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् ।

परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सारिन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले शनिबारदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने चलन छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।

वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने चलन छ ।

 

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ । धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिइन्छ ।

तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा भूमिका खेल्ने विश्वास रहँदै आएको छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु कम हुने जनविश्वास पनि छ ।

चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।