विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोकस्थित सडक किनारमा रहेको फलैँचामा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयले बिहीबार राति करिब १०ः१० बजे घोप्टो परेर एक पुरुष निष्प्राण अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट सई मोतीराज दाहाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया पूरा गरेको थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको जनाएको छ ।
प्रहरीका अनुसार मृतक अन्दाजी ५५ देखि ६० वर्ष उमेरका तराई मूलका जस्ता देखिने पुरुष हुन् । हालसम्म उनको पहिचान खुल्न सकेको छैन ।
मृत्युको कारण पनि तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउन प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मृतकको पहिचानबारे जानकारी हुने व्यक्ति वा आफन्तलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।