इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–१० लपटोलिया जाल्पापुरमा आगलागी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पेट्रोलसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति करिब ११ बजे इभ्राइम मियाको जस्तापाताले छाएको कच्ची भान्सा घर र हारुण अन्सारीको जस्तापाताले छाएको कच्ची गाईगोठमा एक्कासि आगलागी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट साम्बालाबाट प्रहरी निरीक्षक आत्माराज कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा शनिबार राति १२ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट इभ्राइम मियाको भान्सा घरमा सामान्य क्षति पुगेको छ भने हारुण अन्सारीको गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा हरिनगरा गाउँपालिका–६ भुटाहाका ४० वर्षीय रमेश सोर्नकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट प्र १–०२–०५५ प ०९३२ नम्बरको मोटरसाइकल तथा मिनरल वाटरको बोतलमा राखिएको एक बोतल पेट्रोल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सोर्नकारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले आगलागीको कारण र घटनामा उनको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ
