विराटनगर। मोरङमा शनिबार छुट्टाछुट्टै स्थानबाट दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारी नगरपालिका–८ र केराबारी गाउँपालिका–९ मा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ l
उर्लाबारी–८ सिर्जना टोलस्थित सुरेश धिमालको धानखेतमा जमेको पानीमा ६२ वर्षीय पञ्जावसिंह लिम्बुको शव फेला परेको हो। झापाको दमक नगरपालिका–१० निवासी लिम्बु खेतको पानीमा उतानो अवस्थामा मृत भेटिएका थिए।
घटनाको सूचना पाएपछि प्रहरी चौकी राजघाट र इलाका प्रहरी कार्यालय पथरीबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएको छ।
यसैगरी, केराबारी गाउँपालिका–९ बेलचौरीस्थित एक फलैँचामा ७० वर्षीय घनबहादुर तामाङ मृत फेला परेका छन्। शनिबार बिहान तामाङ मृत अवस्थामा रहेको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट भलुवा र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरेर तामाङको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
दुवै घटनाको कारण खुलेको छैन। घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
