इन्धनमा खुलेआम ठगीको आरोप! विराटनगरको पेट्रोल सिल

। उपभोक्तालाई इन्धनको परिमाणमा ठगी गरेको विशेष सूचनाका आधारमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा शनि मन्दिरस्थित पूर्वाञ्चल सप्लायर्समा गम्भीर कैफियत फेला परेको जनाएको छ।

कार्यालयको टोलीले विराटनगर क्षेत्रका दुई मट्टीतेल डिपो र एक पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो। सो क्रममा पूर्वाञ्चल सप्लायर्समा गरिएको प्राविधिक परीक्षणमा पेट्रोल बिक्रीतर्फ ५ लिटरमा ११ रुपैयाँ ८७ पैसा बराबरको कैफियत र डिजेलमा १९ रुपैयाँ ५० पैसा बराबरको कैफियत देखिएको कार्यालयले जनाएको छ।

कैफियत भेटिएपछि सम्बन्धित सप्लायर्समाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। यस्तै, अनुगमनका क्रममा अर्को सप्लायर्समा समेत कैफियत देखिएपछि तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

टोलीले अनुगमन गरेको अर्को डिपोमा भने नापतौल तथा इन्धनको परिमाण निर्धारित मापदण्डअनुसार सही पाइएपछि कुनै कारबाही आवश्यक नपरेको जनाइएको छ।

गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ताको अधिकारमाथि खेलवाड गर्ने र नापतौलमा अनियमितता गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने जनाएको छ। कार्यालयले इन्धनको गुणस्तर र सही परिमाण सुनिश्चित गर्न बजार अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिने बताएको छ।