जनरल हस्पिटलको स्वामित्व हस्तान्तरणपछि बैंकिङ विवाद

विराटनगर

विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिको स्वामित्व हस्तान्तरणपछि बैंकिङ कारोबार, कालोसूची तथा सम्पत्ति रोक्कासम्बन्धी विवाद उत्पन्न भएको छ।

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल खरिदमा संलग्न कल्पना कुमारी यादव र सियाराम यादवले आफूहरूलाई बैंक तथा पूर्व सञ्चालकका कारण समस्या परेको आरोप लगाएका छन्। उनीहरूका अनुसार अस्पताल खरिदका क्रममा सिटिजन बैंकले अस्पताल कालोसूचीमा रहेको जानकारी नदिएको र सम्पूर्ण शेयर हस्तान्तरण तथा रकम भुक्तानी भएपछि मात्र बैंकिङ कारोबार र कालोसूचीसम्बन्धी विषयबारे जानकारी भएको हो।

उनीहरूका अनुसार जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिको सम्पूर्ण शेयर कल्पना कुमारी यादवको नाममा हस्तान्तरण गरिएको छ। सार्वजनिक गरिएको सम्झौतामा आर्थिक कारोबार मिलान गर्ने, तीन कठ्ठा जग्गा फुकुवा गर्ने, विद्युत् महसुल चुक्ता गर्ने तथा अस्पताललाई कालोसूचीबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाउनेलगायतका विषय उल्लेख छन्।

यादवले बैंकका सम्बन्धित अधिकारी तथा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक समस्या समाधानका लागि जानकारी गराए पनि समाधान नभएको गुनासो गरिन्। अस्पतालको नाम परिवर्तन गरी ‘नेपाल आँखा अस्पताल’ सञ्चालन गर्ने तयारी भइरहेका बेला बैंकले सम्पत्ति रोक्का गरेपछि समस्या थप जटिल बनेको उनको भनाइ छ।

बैंकिङ समस्याका कारण सम्पत्तिबाट बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै यादवले कालोसूचीबाट हटाई सम्पत्ति फुकुवा नभएसम्म ब्याज तिर्न नसक्ने बताइन्। उनले बैंक, पूर्व व्यवस्थापन तथा सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी समस्या समाधान गर्न माग गरेकी छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा साउन २७ र २८ गते गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको भन्दै विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति आँखा अस्पताल, इफराह आँखा अस्पताललगायत जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालि तथा नेपाल आँखा अस्पतालसमेत शिलबन्दी गरिएको जनाइएको छ।

पीडित पक्षले अस्पतालको स्वामित्व, बैंकिङ कारोबार, सम्पत्ति रोक्का तथा कालोसूचीसम्बन्धी विषयमा निष्पक्ष छानबिन गरी समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।