ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान, १ हजार ५ सय पिन्टभन्दा बढी रगत संकलन गर्ने लक्ष्य

विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले पूर्व प्रमुख दादी प्रकाशमणीको १९औँ स्मृति दिवसको अवसरमा भदौ ९ गते रक्तदान अभियान सञ्चालन गर्ने भएको छ।

कोशी प्रदेशका विभिन्न सेवा केन्द्रमार्फत अभियान सञ्चालन गरी १ हजार ५ सय पिन्टभन्दा बढी रगत संकलन गर्ने लक्ष्य राखिएको सेवा केन्द्र कोशी प्रदेश प्रमुख गीता दिदीले जानकारी दिनुभयो।

विराटनगरको तीनटोलियास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा हुने रक्तदान कार्यक्रममा सहभागीहरूका लागि ‘माइन्ड स्पा’ तथा ‘मुड क्लिनिक’ समेत सञ्चालन गरिने बताइएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा गीता दिदीले नेपालसहित विश्वका १४२ देशमा रहेका ब्रह्माकुमारी संस्थाका सेवा केन्द्रहरूमा समेत रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीलाई शारीरिक तथा मानसिक शान्ति, तनाव व्यवस्थापन र एकाग्रताका लागि योग तथा ध्यानको अभ्याससमेत गराइने प्रा.डा. अजय भट्टराईले बताउनुभयो।

आयोजकले रक्तदानसँगै मानसिक स्वास्थ्य, योग, ध्यान र सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ।