रंगेलीमा शान्ति सुरक्षामा प्रहरीकाे कमजोरी, सिसिटिभीमा चाेर देखिएपनि अनुसन्धान शुन्य

विराटनगर / ईलाका प्रहरी कार्यलय रंगेली शान्ति सुरक्षाकाे जिम्मेवारीमा चुकेकाे जनगुनासो तीव्र रुपमा बढ्न थालेकाे छ। रंगेली तथा आसपासका क्षेत्रहरूमा चोरीका घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा छन्, तर प्रहरीले चाेर पक्रन सकेकाे छैन।

गत बिहीबार जनता क्याम्पस परिसरबाट दुईवटा साइकल चाेरी हुँदा पनि प्रहरी टुलुटुलु हेरेर बसेकाे अवस्थामा देखिएकाे छ। क्याम्पसको साइकिल स्ट्यानमा जडान गरिएकाे सिसिटिभी क्यामरामा चोरहरू प्रष्ट रूपमा देखिन्छन्। ती चोरहरू साइकल लिएर बक्राहा पुलतर्फ गइरहेकाे दृश्य क्यामरामा कैद भएकाे छ भने पुलमा समेत सिसिटिभी जडान गरिएकाे थियाे। तर, चार दिन बितिसक्दा पनि प्रहरीले कुनै चोर पत्ता लगाउन सकेकाे छैन।

दुई महिना अघि काठमाडाैंदेखि सरुवा भएर आएका प्रहरी निरीक्षक नगेन्द्र बोगटी नेतृत्वकाे प्रहरी टाेलीले सुरक्षा व्यवस्थापनमा चासो नदिएको जनगुनासो बढेकाे छ। विद्यार्थीहरू पढ्न आउने जनता क्याम्पसमा समेत दिनदाहाडै साइकल चाेरी भइरहँदा समेत प्रहरीले सिसिटिभीकाे प्रयोग गरेर चोर पहिचान र पक्राउ गर्न नसक्नु चिन्ताकाे विषय बनेकाे छ।

रंगेली-७ स्थित मुन्डाकालीका कृषकहरूको सिचाइ प्रयोजनकाे लागि राखिएकाे ट्रान्सफर्मर र रंगेली-१ जिरायत टोलमा खानेपानी संस्थाकाे ट्रान्सफर्मर समेत केही दिन अघि चाेरी भएका थिए। तर, अहिलेसम्म प्रहरीले ती घटनासम्बन्धी कुनै चाेर पहिचान गर्न सकेकाे छैन।

स्थानीय बासिन्दाहरूका अनुसार रंगेलीमा सानाेदेखि ठूलाे चाेरीका घटनाहरू बढ्दो अवस्थामा छन्। प्रहरी प्रशासनकाे मौनता र निष्क्रियता प्रति सर्वसाधारण आक्राेशित छन्। जनताकाे जिउधनकाे सुरक्षामा खटिनुपर्ने प्रहरी आफै निरीह देखिनु कानूनप्रति जनताको विश्वास घटाउने खालकाे छ।

स्थानिय जनताले अब प्रहरी प्रशासनले प्रभावकारी अनुसन्धान सुरु गरेर दोषीलाई कारबाही नगरे रंगेलीमा नागरिक सुरक्षा गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।