विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसहित त्यसमा प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
चोरी–सिकारी हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा झाडीमा शंकास्पद अवस्थामा राखिएको बोरा फेला पारेको थियो । बोरा खोलेर हेर्दा घरेलु भरुवा बन्दुक ३ थान, फलामको नाल १ थान, बन्दुकमा प्रयोग हुने १९ ग्राम २४० मिलिग्राम बारुद, फलामका ९८ वटा बेरिङ तथा १३ वटा फलामका टुक्रा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार ती सामग्री झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका थिए । बरामद सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ । बन्दुक चोरी–सिकारीमा संलग्न समूहले छाडेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए ।