विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित सुर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्रिजले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ।
उद्योगका अध्यक्ष तथा सञ्चालकहरूले उक्त रकम बराबरको चेक मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।
उद्योगका अध्यक्ष अनुज यादव, सञ्चालकहरू मनोज यादव, प्रेम राठी, गुरु प्रसाद अधिकारी र विनोद राठी तथा सम्पूर्ण सुर्योदय डेरी परिवारको तर्फबाट सहयोग गरिएको हो।
उद्योगका सञ्चालक मनोज कुमार यादवले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए। प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु संस्था तथा नागरिकको सामाजिक दायित्व भएको उनको भनाइ छ।
सुर्योदय डेरीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।