काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ३५३ जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ५३० जना पुरुष र ३२८ जना महिला रहेका छन्। यस्तै, ४९५ वटा शव अत्यधिक क्षतविक्षत अवस्थामा फेला परेकाले तत्काल पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।
बाढीपछि बेपत्ता हुनेको संख्या पनि अत्यधिक रहेको छ। प्रहरीका अनुसार सम्पर्कविहीन ३ हजार ९९२ जनामध्ये २ हजार ८२७ जना नेपाली पुरुष र ५६७ जना नेपाली महिला छन्। त्यस्तै, २६७ जना विदेशी पुरुष र २३९ जना विदेशी महिला अझै सम्पर्कविहीन रहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित स्थानमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूलाई आवश्यक राहत, स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।
बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ। प्रहरीका अनुसार हालसम्म १ हजार ४४ वटा शवलाई जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका तथा बाँकी शवको सनाखत र व्यवस्थापन प्रक्रिया जारी रहेको छ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक १ हजार १८१ जना तथा मृतकका आफन्त १ हजार १९५ जना गरी कुल २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।