कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय रहेसँगै देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । बिहानैदेखि सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । रातको समयमा पनि वर्षाको सम्भावना कायमै रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । पहाडी र तराई भू–भागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा रातको समयमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।