दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते

विराटनगर । सुनसरीको दुहबीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन् । दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजेतिर दुर्घटना भएको हो ।

दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा प्रवेश गर्दै गरेको प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २७ प ९६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलमा तीन जना सवार थिए ।

दुर्घटनामा प्रदेश १–०२–०५६ प ४२७६ नम्बरका चालक प्रहरी सहायक हवल्दार धीरज चौधरी र पछाडि सवार प्रहरी जवान बाबुराम बुढाथोकी घाइते भएका छन् । चौधरीको बायाँ खुट्टा र टाउको तथा बुढाथोकीको टाउको र देब्रे खुट्टामा चोट लागेको छ । अवस्था सामान्य छ ।

यस्तै, अर्को मोटरसाइकलका चालक श्यामसुन्दर साह तथा पछाडि सवार अरबिन यादव र रामरतन मण्डल पनि सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि सामुदायिक अस्पताल दुहबी पठाइएको प्रहरीले जनाएको छ ।

को २७ प ९६८६ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।