विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ खैरवनास्थित आनन्द आधारभूत विद्यालयमा पर्याप्त शिक्षक तथा भौतिक संरचना नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
ईसीडीदेखि कक्षा ५ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा पर्याप्त कक्षा कोठा र शिक्षक नहुँदा कतिपय अवस्थामा दुईदेखि तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने अवस्था छ। विद्यालयमा रहेका चार कोठामध्ये दुईवटामा मात्र नियमित पठनपाठन हुने गरेको छ।
विद्यालयको एउटा कक्षाकोठा पानी पर्दा चुहिने र भुइँमा पानी जम्ने समस्या छ। शौचालयमा पानी जम्ने, फोहोर तथा दुर्गन्ध हुने समस्या रहेको विद्यालयले जनाएको छ। स्वच्छ खानेपानीको समेत उचित व्यवस्था नहुँदा विद्यार्थीले चापाकलको पानी प्रयोग गर्दै आएका छन्।
प्रधानाध्यापक सम्पतलाल मण्डलका अनुसार पहिले ६ जना शिक्षक कार्यरत रहेको विद्यालयमा अहिले प्रधानाध्यापकसहित तीन जना शिक्षक मात्र छन्। कार्यालय सहयोगीसमेत नहुँदा विद्यालयको दैनिक व्यवस्थापनमा समस्या थपिएको छ।
विद्यालयमा ७० जना विद्यार्थी भर्ना भए पनि दैनिक औसत ४५ देखि ५० जना मात्र उपस्थित हुने गरेको प्रधानाध्यापक मण्डलले बताए। पर्याप्त शिक्षक, कक्षाकोठा, शौचालय, खानेपानी तथा आवश्यक कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग पटक–पटक माग गरिए पनि अपेक्षित सुधार हुन नसकेको विद्यालयको भनाइ छ।
अभिभावकहरूले विद्यालयको अवस्था तत्काल सुधार गर्न माग गर्दै बालबालिकाले पाउनुपर्ने आधारभूत शैक्षिक सुविधा प्रभावित हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।