सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ, अन्य फरार

विराटनगर। सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा गाँजा बोक्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका मलाहसँगै प्र.२–०१–००३प २१५४ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। प्रहरीले सातवटा पोकामा राखिएको जम्मा २१२ किलो ९२५ ग्राम गाँजा फेला पारेको जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीले घटनास्थलमा अन्य केही व्यक्तिहरू पनि रहेको जनाउँदै उनीहरू प्रहरीलाई देख्नेबित्तिकै गाडीसहित फरार भएको जानकारी दिएको छ।

फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।