विराटनगरमा सशस्त्र प्रहरीको छापा, ९ लाखका अवैध सामान बरामद

विराटनगर । खुला सीमाबाट अवैध रूपमा खाद्यान्नका सामान भित्र्याएर विभिन्न पसलसम्म पुयाउँदै आएको आरोपमा विराटनगर-६ सरोचियाका बिनोद केशरीको घरमा सशस्त्र प्रहरीले शनिबार छापा हानेर करिब नौ लाख रुपैयाँ बजार मूल्य बराबरका सामान बरामद गरेको छ । केशरीको विराटनगर-९ स्थित पुरानो गुद्री बजारमा पसल रहेको र विराटनगर-६ सरोचियास्थित घरमा अवैध रूपमा भित्र्याइएका सामान गोदाम गरेर राख्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा मरिच, ज्वानो, सुप, हिङलगायत सात प्रकारका सामान ३५ बोरा बरामद गरिएको हो । प्रहरीका अनुसार केशरीले मोरङ-सुनसरीको खुला सीमाबाट साइकललगायतका माध्यमबाट सामान भित्र्याएर घरमा भण्डारण गर्ने गरेका थिए । उनले आफ्नो घरसमेत अर्कै व्यक्तिको नाममा देखाएर प्रहरीलाई झुक्याउने प्रयास गरेको सशस्त्र प्रहरीको दाबीसशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्र भण्डारीका अनुसार विशेष सूचनाका आधारमा शनिबार खानतलासी गरी सामान नियन्त्रणमा लिइएको हो । लामो समयदेखि प्राप्त हुँदै आएको सूचनाका आधारमा अनुकूल समय पारेर कारबाही गरिएको उनले बताए ।

भण्डारीका अनुसार बिदा परेकाले बरामद सामान सोमबार मात्रै भन्सार कार्यालयमा बुझाइनेछ । बरामद सामानको बजार मूल्य करिब नौ लाख रुपैयाँ रहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरीका अनुसार केशरीले क्यारिङमार्फत सीमाबाट सामान घरसम्म ल्याउने र रातारात बिल काटेर ट्रान्सपोर्टमार्फत विभिन्न पसलमा पुऱ्याउने गरेको सूचनाका आधारमा निगरानी गरिएको थियो । केशरी लामो समयदेखि यस्तो कारोबारमा संलग्न रहेको आरोप लाग्दै आए पनि पहिलो पटक कारबाहीमा परेको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि स्थानीय प्रशासनको अनदेखाका कारण उनीमाथि कारबाही हुन नसकेको दाबीसमेत गरिएको छ ।