
विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर आइतबार विराटनगरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरियो । त्यस्तै ५० हजार राशिकै दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार महाकाव्यकार भुवनहरि सिग्देल, ५० हजार राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेदवेदाश्रम गुरुकुलम् चतरा, सुनसरी र ५० हजार राशिकै ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार गायत्रीकुमार चापागाईं र साहित्यकार डा. विमला श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार अनुसन्धानदाता सुदीप अधिकारी, २१ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार साहित्यकार मञ्जुश्री गिरी र साहित्यकार अभागी थेगुवालाई संयुक्त रुपमा प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने र पुरस्कारका संस्थापकहरुले संयुक्त रुपमा सबै पुरस्कार र सम्मान प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख खापुङले भाषा, साहित्य, संस्कृति कला समाजको दर्पण भएको चर्चा गरे । उनले भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपाने, सचिव दिङ्लाली कान्छो, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार भूषण ढुंगेल, अनन्तराज न्यौपाने, चूडामणि नेपाल अकिञ्चन, रोहिणी रसिक, मीनकुमार नवोदित, विनिता सुवेदी, लक्ष्मी रायमाझी, पुष्पा सायरालगायतले पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
सोही अवसरमा साहित्यकार गायत्रीकुमार चापागाईंद्वारा लिखित दुईवटा कृतिसमेत विमोचन गरिएको थियो । २०३९ सालमा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ११० जनाभन्दा बढी स्रष्टाहरुलाई पुरस्कृत गरिसकेको सचिव दिङ्लाली कान्छोले जानकारी दिए । त्यस्तै प्रतिष्ठानले विभिन्न स्रष्टाका कृति र पुस्तकहरुसमेत प्रकाशित गर्दै आएको छ ।