विराटनगर
सामान्य व्यावसायिक अभ्यासमा खातामा रकम जम्मा भएपछि सम्बन्धित पक्षले बैंकबाट भुक्तानी लिएर लेनदेन टुङ्ग्याउँछ । तर, विराटनगर–१४ रानीस्थित रानी विराटनगर आँखा अस्पताल (साविक हाजी अस्पताल) मा भने ठीक उल्टो दृश्य देखिएको छ । बैंक खातामा करोडौँ रुपैयाँ मौज्दात राखिदिँदासमेत चार जना पूर्वसञ्चालकहरू भुक्तानी लिन जानुको साटो हातमा रहेको पुरानो ‘ग्यारेन्टी चेक’ देखाउँदै अस्पताल अध्यक्षलाई कालोसूचीमा राख्ने बार्गेनिङमा उत्रिएका छन् ।
घाटामा गएर डुब्न लागेको अस्पताल नयाँ व्यवस्थापनले सम्हालेर नाफामा लैजान थालेपछि सुरु भएको यो विवाद सामान्य लेनदेन मात्र नभई ‘ग्यारेन्टी चेक’को दुरुपयोग गरी दोहोरो रकम असुल्ने संगठित प्रपञ्च रहेको प्रमाणहरूले देखाएका छन् ।
२०७८ मा १५ जना लगानीकर्ताले करिब ३ करोड रुपैयाँ खर्चेर ‘हाजी आँखा अस्पताल’ स्थापना गरेका थिए । तर, चार वर्षसम्म पनि अस्पताल सञ्चालन हुन नसकी धराशायी बन्यो । लगानी खेर जाने स्थिति आएपछि अधिकांश संस्थापकहरू आफ्नो लगानी सुरक्षित गर्दै बाहिरिने बाटो खोज्न थाले ।
त्यही बेला खाद्यान्न व्यवसायी मन्नुकुमार गुप्ताले अस्पतालको उद्धारको जोखिम मोले । उनले १४ जना शेयर सदस्यहरूलाई साढे ३ करोड रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्ने सम्झौता गरेर अस्पतालको व्यवस्थापकीय नेतृत्व लिए । लथालिङ्ग अवस्थामा रहेको अस्पतालमा गुप्ताले थप करिब २ करोड ५० लाख रुपैयाँ नयाँ लगानी खन्याए । व्यवस्थापन चुस्त भएपछि बिरामीको चाप बढ्यो, आम्दानीको ग्राफ उकासियो । तर, अस्पताल चल्न थालेपछि सुरु भयो— बाहिरिइसकेका केही पूर्वसञ्चालकहरूको ‘अतिरिक्त लोभ’ र खेल ।शेयर खरिद–बिक्री सम्झौताको प्रारम्भिक चरणमा वित्तीय सुरक्षाका लागि भन्दै चार जना सञ्चालकलाई कुमारी बैंक ९साविक एनसीसी बैंक० को चेक ‘ग्यारेन्टी’ स्वरूप दिइएको थियो । नियमतः विभिन्न मितिमा बैंक ट्रान्सफर र नगदमार्फत रकम चुक्ता भएपछि ती चेकहरू स्वतः बदर वा फिर्ता हुनुपर्ने थियो ।
तर, डाक्टर गुणराज कट्टेल, ज्याउल कमर, राजेश साह र मोहमद अतहर अन्सारीले रकम बुझिसक्दा पनि ती चेक फिर्ता गरेनन् । अस्पताल प्रशासनले उपलब्ध गराएको बैंकिङ विवरण अनुसार डाक्टर गुणराज कट्टेलः उनले पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँमध्ये एक्सेल डेभलपमेन्ट बैंकमार्फत २३ लाख ९० हजार, ग्लोबल आइएमई बैंकमार्फत ११ लाख र नगद २२ लाख ९० हजार गरी सम्पूर्ण रकम बुझिसकेका छन् ।
ज्याउल कमर उनको भागको १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये एक्सेल बैंकबाट १० लाख र बाँकी ९ लाख ६२ हजार ६०७ रुपैयाँ नगद भुक्तान भइसकेको छ ।
राजेश साहले पाउनुपर्ने ३० लाख ६३ हजार ४ सय रुपैयाँको ठाउँमा एक्सेल र ग्लोबल आइएमई बैंकमार्फत उल्टै बढी अर्थात् ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् ।
मो। अतहर अन्सारीः उनको ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका बुबा कादिर अन्सारीको बैंक खातामा र बाँकी ५ लाख ७२ हजार ६६१ रुपैयाँ नगद बुझाइएको छ । यद्यपि अन्सारीले बुबाको शेयर छुट्टै भएको दाबी गर्दै आफ्नो रकम बाँकी रहेको जिकिर गरिरहेका छन् ।
अदालती प्रक्रिया र आपसी समझदारीलाई सम्मान गर्दै अस्पतालका अध्यक्ष गुप्ताले कुमारी बैंकको खातामा असोज ६ र ७ गते दुई दिनमा १ करोड ६० लाख रुपैयाँ सुरक्षित मौज्दात (डिपोजिट) गरिदिएका छन् । तर, पूर्वसञ्चालकहरू बैंकमा गएर हिसाब मिलान गरी रकम झिक्न तयार छैनन् ।
बरु, उनीहरूले आफूसँग रहेका पुराना ‘ग्यारेन्टी चेक’लाई बैंकमा पेश गरी ‘चेक बाउन्स’ गराउने र त्यसैलाई आधार बनाएर गुप्तालाई बैंकिङ कसुरमा फसाउने तथा कालोसूचीमा राख्ने धम्की दिँदै शनिबार पत्रकार सम्मेलन गरे । उनीहरुले पत्रकार सम्मेलनमा आफुहरुले शेयर विक्रीबापतको रकम नपाएको गुनासो गरेका थिए ।