
विराटनगर । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचारमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल लागिपरेका छन् । यो सिनेमामा समावेश ‘झुम झुम झुम्किका’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग सोही गीतमा नाँचिरहेका छन् ।

यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग सिनेमाको विषयमा साक्षात्कार गरेका छन् । सिनेमाका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, सिनेमाका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा अभिनेता शाहले ‘मोहर’ सवै परिवारले हेर्ने कथा भएको बताए । कार्यक्रममा पलले फ्यानहरुसँग साक्षात्कार पनि गरेका थिए । ‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिँदैन,’ उनले भने । सिनेमाको निर्माण टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको थियो ।
सिनेमाका मुख्य दुई कलाकार पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिएका थिए । उनीहरुले ‘मोहर’को प्रतिक्षा व्यग्र रुपमा गरिरहेको बताए । देउकी प्रथामा आधारित यो सिनेमामा पल र बेनिशासहित नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमाले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । सिनेमाको टिजर र दुई गीतलाई दर्शकले रुचाएका छन् । केही दिनमै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । सिनेमालाई काठमाडौं उपत्यकामा एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।