मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलमा मंगलबार राति बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा चालक मिक्लाजुङ–८ का ३२ वर्षीय दिपेन लिम्बू गम्भीर घाइते भएका थिए । दुर्घटनापछि उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले राति ११ः५५ बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनास्थल मधुमल्लास्थित ट्राफिक प्रहरी कार्यालयबाट करिब चार किलोमिटर उत्तरमा पर्छ । अँध्यारो सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा छ । घटनाको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।