तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ ।

 

मौसममा आएको यो बदलीका कारण आज (शनिबार) कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

 

शनिबार दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान छ । गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि चट्याङसहित वर्षा र हिमपात हुन सक्नेछ । यीमध्ये कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने छिटपुट हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । राति देशभर सामान्यतया बादल लाग्नेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

आइतबारदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ । देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ । ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभाव शनिबार अपराह्नपछि क्रमशः कमजोर हुँदै जाने महाशाखाले जनाएको छ ।