
विराटनगर । अमेरिकाको लुइजियाना राज्यमा भएको एक कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटना लुइजियाना राज्यको हाइवे ८० मा असार २९ गते राति करिब ९ बजे भएको हो। लुइजियाना राज्य प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यादवले चलाइरहेको कार तीव्र गतिमा वर्षा भइरहेका बेला चिप्लिएर सडक छेउको रूखमा ठोक्किएको थियो। ठोक्किएपछि कारमा आगो लागेको र घटनास्थलमै यादव र ओलीको ज्यान गएको बताइएको छ।
उक्त कारमा ओलीसहित अन्य दुई जना पनि सवार थिए। घाइते भएका ती दुईको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।
हालसम्म मृतक यादव र ओलीको नेपालको स्थायी ठेगाना खुलेको छैन। यद्यपि उनीहरू नेपालका नागरिक रहेको पुष्टि भएको छ।
विश्वविद्यालयद्वारा शोक प्रकट
लुइजियाना टेक विश्वविद्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै शोक विज्ञप्ति सार्वजनिक गरेको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै भनेका छन्, “हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं। सधैं एकअर्काको हेरचाह गरिरहनुहोस्।”
विश्वविद्यालयले उक्त घटनाबाट प्रभावित विद्यार्थीहरूलाई मानसिक परामर्श सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ।
यस दर्दनाक घटनाले अमेरिका तथा नेपाल दुवैका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।