
विराटनगर। मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गत सञ्चालन भएका अस्पतालमध्ये उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतका सुशासन, व्यवस्थापन, क्लिनिकल सेवा र अस्पताल सेवा जस्ता सूचकहरूमा आधारित मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गरेको हो।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलियाका अनुसार हरेक ६ महिनामा हुने मूल्यांकनमा अस्पतालले क्रमिक सुधार गर्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो। पछिल्लो मूल्यांकनमा रंगेली नगरपालिकाको विशेष प्रयासपछि अस्पतालको सेवा सुधार गरिएको र त्यसको परिणामस्वरूप ८६ प्रतिशत अंक प्राप्त भएको बताइएको छ।
रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सबैको सामूहिक प्रयासबाट अस्पताललाई उदाहरणीय बनाइएको उल्लेख गर्दै आगामी मूल्यांकनमा अझ बढी अंक प्राप्त गर्ने लक्ष्य राखिएको बताए। उनले अस्पताल व्यवस्थापन समितिको निरन्तरको पहल र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण नै सफलताको मूल आधार भएको बताए।
उपप्रमुख भूमा पराजुलीले पनि अस्पतालको सफलताको श्रेय सम्पूर्ण टिमलाई दिँदै मूल्यांकनबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्दै थप सुधार गरिने प्रतिवद्धता जनाइन्।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. थपलियाले रंगेली अस्पताल सुविधा सम्पन्न र गुणस्तरी अस्पतालका रूपमा स्थापित हुँदै गएको बताइन्। उनले प्रदेश सरकारबाट अस्पताललाई आवश्यक सहयोग पुर्याउन पहल गरिने आश्वासन दिइन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त साहले अस्पतालको सफलता नगरपालिकाको सहयोग, स्वास्थ्यकर्मीको समर्पण र सेवाग्राहीको विश्वासकै कारण सम्भव भएको बताए। प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले रंगेली अस्पताललाई देशकै नम्बर एक अस्पतालका रूपमा चिनाउन लागिएको उल्लेख गरे।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालको अध्यक्षतामा, स्वास्थ्य निर्देशनालय धनकुटाकी आस्था थापा, स्रोत व्यक्ति डा. पुजन विश्वकर्मा, डा. वैभव मल्लिक, एमएसएस अफिसर पशुपति खनाल, नगरपालिकाका प्रशासन प्रमुख दिपक प्रकाश तिम्सिना, नगर प्रमुखका सल्लाहकार कृष्ण भट्टराई, अस्पताल विकास समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।