सुनसरीमा लागू औषधसहित ५ जना पक्राउ

विराटनगर। सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले साउन २ गते विभिन्न अपरेशनमार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कोशी गाउँपालिका–१ मा खटिएको लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरीको तिलाठी निवासी २४ वर्षीय रञ्जित कुमार यादवलाई ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रविन विष्ट र मोरङ बेलबारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरेर जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको हो।

यस्तै, धरान उपमहानगरपालिका–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजासहित अस्थायी प्रहरी चौकी अमरहाट धरानले पक्राउ गरेको छ।

पक्राउ परेका सबै अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।