
विराटनगर । हिमालयन बैंक लिमिटेडको थप साधारण शेयर (एफपीओ) मा आवेदन दिन आज (आइतबार) अन्तिम दिन हो। बैंकले गत असार ३२ गतेदेखि सर्वसाधारणका लागि एफपीओ निष्कासनमा ल्याएको हो।

बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ सार्वजनिक निष्कासन गरेको हो। एफपीओ अन्तर्गत १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ मा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर जारी गरिएको छ।
यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुनै पनि बैंकले आफ्नो कुल चुक्ता पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणमा वितरण गर्नु पर्ने प्रावधान अनुसार बैंकले यो एफपीओ ल्याएको हो।
हाल हिमालयन बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। एफपीओ निष्काशनपछि सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुग्नेछ भने बैंकको कुल चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।
एफपीओमा सहभागी हुन चाहने लगानीकर्ताहरूले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, ब्रोकर कार्यालय तथा मेरो शेयरमार्फत आवेदन दिन सक्ने छन्।
शेयर बजार विश्लेषकहरूका अनुसार हिमालयन बैंक जस्तो बलियो पृष्ठभूमि भएको बैंकको एफपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ।