
विराटनगर ।उत्तरी भियतनामको पर्यटकीय क्षेत्र हालोङ खाडीमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिँदा ठूलो जनधनको क्षति भएको हो ।

‘वन्डर सीजर्भ’ नामको पर्यटक डुङ्गा हालोङ खाडीमा पल्टिएको हो । उक्त डुङ्गामा ५३ जना सवार थिए, जसमा अधिकांश भियतनामको राजधानी हनोईबाट आएका पर्यटक थिए ।
दुर्घटनापछि उद्धार कार्य जारी रहँदा अहिले पनि धेरै जना बेपत्ता छन् । उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गर्न सफल भएका छन् । तर, निरन्तरको भारी वर्षाका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले जनाएका छन् ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू संयुक्त रूपमा उद्दार कार्यमा खटिएका छन् । घाइतेहरूको उपचार नजिकैको अस्पतालमा भइरहेको जनाइएको छ ।
घटनापछि भियतनामका अधिकारीहरूले पर्यटक सुरक्षामा थप चनाखो हुन डुङ्गा सञ्चालन कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
हालोङ खाडी युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र हो, जहाँ वर्षेनी हजारौं आन्तरिक तथा विदेशी पर्यटक घुम्न जान्छन् ।
अहिलेसम्म यो दुर्घटनालाई हालोङ खाडी क्षेत्रमा हालसम्मकै ठूलो मानिएको छ ।