सिरियाको स्वेइदा प्रान्तमा युद्धविरामको घोषणा भए पनि साम्प्रदायिक झडप कायमै, ९०० भन्दा बढीको ज्यान गएको पुष्टि

विराटनगर। दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा युद्धविरामको औपचारिक घोषणा भए पनि साम्प्रदायिक झडपहरू नरोकिएको समाचार संस्था बीबीसीले जनाएको छ । विशेषगरी द्रुज र बेदुइन समुदायबीच जारी द्वन्द्वका कारण ठूलो संख्यामा नागरिक मारिएका छन् ।

शनिबार द्रुज लडाकुहरूले स्वेइदा सहरबाट बेदुइन बन्दुकधारीहरूलाई हटाएका थिए । तर, प्रान्तका अन्य भागहरूमा झडप जारी रहेको बताइएको छ । यस हप्ताको सुरुमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराद्वारा तैनाथ सरकारी फौजले द्रुजमाथि आक्रमणमा संलग्न भएको आरोपसमेत लागेको छ ।

रिपोर्टहरू अनुसार पछिल्लो एक साताको झडपमा ९०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । द्वन्द्वमा संलग्न सबै पक्षमाथि मानवअधिकार उल्लंघन तथा अत्याचारको आरोप लागिरहेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्स (पूर्व ट्विटर) मा एक पोस्ट गर्दै सिरियामा भइरहेको हत्या, बलात्कारजस्ता अमानवीय गतिविधि तुरुन्त रोक्न आह्वान गरेका छन् ।

उनले दमास्कसका अधिकारीहरूलाई चेतावनी दिँदै भनेका छन्, “यदि उनीहरूले शान्तिपूर्ण र एकीकृत सिरियाको सम्भावना कायम राख्न चाहन्छन् भने आईएसआईएस र अन्य चरमपन्थी समूहहरूको प्रवेश रोकेर आफ्ना सुरक्षा बललाई जवाफदेही बनाउनु पर्छ।”

शनिबार साँझ सिरियाको गृह मन्त्रालयले स्वेइदा क्षेत्रमा आफ्नो फौजको हस्तक्षेपपछि झडप रोकिएको दाबी गरे पनि, अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले स्वेइदाका अन्य भागहरूमा अझै द्वन्द्व जारी रहेको जनाएको छ ।

यसैबीच, इजरायलले द्रुज समुदायप्रति समर्थन जनाएको छ भने राजधानी दमास्कसमा सरकारी फौज र रक्षा मन्त्रालयमाथि आक्रमण समेत भएको रिपोर्टमा उल्लेख छ ।

स्थिति अत्यन्त जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले सिरियामा शान्ति स्थापना गर्न तीव्र दबाब दिइरहेका छन् ।